`हामी बालविवाह गरेर पछुतायाै,अरूले नगरून्´

जुम्ला : कनकासुन्दरी-६ लाहार्ज गाउँकी देउरूपा कामी ५० वर्षकी भइन् । उनी तीन सन्तानकि आमा हुन् । देउरूपाका तीन छाेरा छन् । उनकाे १३ वर्षकाे कलिलाे उमेरमै विवाह भएकाे थियाे ।

जतिबेला उनकाे एकपटक मात्र रजस्वला भएकाे थियाे । माइतीकाे आर्थिक अवस्था नाजुक भएका कारण शिक्षा आर्जन पाइनन् ।  विद्यालयकाे मुखसमेत देख्न नपाएकाे उनकाे भनाइ छ । `एक त कलिलाे उमेरमा विवाह भयाे । त्यसमाथि मागी विवाह भएकाे हाे । बालविवाह गर्दा धेरै समस्या हुँदाे रहेछ,´ देउरूपाले भनिन् ।

त्यतिबेला अन्जानमा बालविवाह गरेकाेमा देउरूपालाई पछुताे छ । भुलेरपनि बालविवाह नगर्न उनकाे सुझाव छ । वडा नम्बर-६ कै एकुमाया हमालकाे पनि १३ वर्षकाे उमेरमै विवाह भएकाे थियाे । ४० वर्षीया हमाल १७ वर्षकाे उमेरमै पहिलो सन्तानकाे आमा बनिन् ।

आफूले बालविवाह गरेकाे भएपनि अरू बालविवाह नगर्न आग्रह गर्छिन् । तीन सन्तानकी आमा उनले आफ्ना सन्तानकाे बालविवाह हुन दिएकी छैनन् । तीनै सन्तानकाे विवाह गर्ने कानुन उमेर पुगेपनि आत्मनिर्भर र  परिपक्व नहुञ्जेल विवाह हुन नदिने उनकाे भनाइ थियाे । साेही गाउँका ७० वर्षीय  भुम्लाे कामीले दुई वटा श्रीमती विवाह गरे । उनले दुवै श्रीमतीसँग बालविवाह गरेका थिए ।

`त्यतिबेला बालविवाह गरियाे सर । बालविवाह गर्न हुदैन भन्ने थाहै थिएन । अब छाेराछाेरीकाे बालविवाह हुन दिदैनाै,´ भुम्लाे भन्छन् । साेही गाउँकी निरमाया हमालकाे भाेगाई भने बेग्लै छ । उनकाे २० पुगिसकेपछि प्रेम विवाह भएकाे थियाे ।अहिले उनका दुई वटा सन्तान छन् । उनी घरव्यवहार सम्हाल्छिन् । उनका श्रीमान कालापहाडमा व्यापार गर्छन् ।

`मैले बालविवाह गरेकाे हाेइन । पढ्दापढ्दै विवाह गरे । तर अहिले पछुतो छ । पढाइ सकेर विवाह गरेकाे भए हुने रहेछ भन्ने लाग्छ । जागिर खाएर विवाह गरेकाे भए अहिले दुःख हुने थिएन ।´उनले आफ्नाे पीडा व्यक्त गरिन् ।

कनकासुन्दरी-६ का देउरूपा,एकुमाया,भुल्लाे र निरमाया त प्रतिनिधि पात्र मात्र हुन् । उक्त गाउँका अधिकांशले बालविवाह गरेका छन् । शुक्रबार लाहार्ज गाउँमा आयाेजित अन्तरपुस्ता संवादमा सहभागीहरूले भने,`बालविवाह कानुन अपराध रहेछ । हामी पछुतायाै । अरूकाे पनि हुन दिन्नाै ।´

पछिल्लाे समय गाउँलेहरू बालविवाह विरूद्व सक्रिय हुन थालेका छन् । केही संख्यामा बालविवाह राेकेका समेत उदाहरण छन् ।  उसाे त सिंगाे कनकासुन्दरी नै जिल्लामै सबैभन्दा बढी बालविवाह हुने क्षेत्रमा पर्छ । आ.व. २०७७/०७८ मा कनकासुन्दरीमा २० वर्ष उमेर नपुगेका मात्रै ९० जना आमा भएका थिए  ।

एक तथ्यांक अनुसार कनकासुन्दरीमा वर्षेनि २० प्रतिशत बालविवाह हुने गरेकाे छ। प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र आत्मसम्मानका लागि सहकार्य (क्याड )द्वारा सञ्चालित अन्तरपुस्ता कार्यक्रम अन्तरर्गत अन्तरपुस्ता कार्यक्रम सम्पन भएकाे हाे ।

क्याड नेपालले सिंजा क्षेत्रका तीन वटा स्थानीय तहमा बालविवाह न्युनिकरणका क्षेत्रमा काम गर्दै आएकाे छ ।  अन्तर पुस्ता संवादमा सहभागीहरूले बालविवाह न्युनिकरणका लागि स्थानीय तहले नीतिगत रूपमा याेजना बनाउनुपर्नेमा जाेड दिएका थिए ।