जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका-४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन्।
विषालु घाँस खाएर मरेकाे भेडाको मासु खाँदा बिरामी परेका हुन्। बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ। तीन जना पुरुष र तीन जना महिला बिरामी परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए ।
उनका अनुसार बिरामी हुनेमा ४० वर्षका विष्णु बहादुर अधिकारी,उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरू शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन्। सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए ।
भर्खर पलाउन लागेको विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा यस्तो भएको उनकाे भनाइ छ । पहिलापनि यसरी मरेका भेडाको मासु त खाएको र केही नभएको अधिकारीले बताए । त्यही सोचेर उनीहरुले पनि खाए। तर बिरामी हुनुपरेको बताएका छन्।
बिरामी ६ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा.रमाकान्त रायले बताए । उनले भने, `मासु भर्खरै खानु भएको रहेछ। असर एकदमै चाँडै देखिएको हुँदा ‘दुई तीन दिन नहेरी केही भन्न नसकिने छ ।’
जुम्ला दर्पण । २९ चैत्र २०८०, बिहीबार १८:०६