शिक्षामा सुधारका लागि तातोपानीमा ‘शैक्षिक कचहरी’ आज बाट सुरु

डिल्ली अन्जान

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदाियक विद्यालयमा शिक्षा सुधारका लागि ‘शैक्षिक कचहरी’ सुरु गरेको छ । तातोपानी गाउँपालिकाको आयोजना र भेरीखोला मल्टिप्रपोज मिडिया प्रा.ली.को समन्वयमा आजबाट शैक्षिक कचहरी सुरु भएको हो । शैक्षिक कचहरीका माध्यमबाट सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने अभियान सुरु गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी सुरु गरिएको अध्यक्ष चौंलागाईले बताए ।
तातोपानीका २९ वटा सामुदायिक विद्यालय लक्षित शैक्षिक कचहरी तीन चरणमा सञ्चालन हुने अध्यक्ष चौंलागाईले जानकारी दिएका छन् । आज पहिलो चरणमा तातोपानी गाउँपालिका वडा नम्वर १, २ र ३ भित्रका ८ वटै सामुदायिक विद्यालयको अवश्थालाई छलफलको विषय बनाइएको हो । आजको शैक्षिक कचहरीमा तिन वटा वडा भित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकलाई एक ठाउँमा भेला गरेर छलफल गरिएको अध्यक्ष चौंलागाईले बताए ।
‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेका छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्, अध्यक्ष चौंलागाईले भने, ‘आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक व्यवश्थापन गर्ने, शैक्षिक गुणस्तरलाई लयमा ल्याउने उदेश्यले अन्तक्र्रियात्मक कार्यक्रम शैक्षिक कचहरी सुरु गरिएको हो ।’
अध्यक्ष र्चौलागाईले पालिकामा शिक्षा क्षेत्र व्यवस्थित बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । शिक्षामा मात्रै राम्रो सुधार ल्याउन सके अरु क्षेत्रमा स्वत सकारात्मक परिवर्तन देखिने उनले बताए । यस्तै तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले विद्यालय सुधारको अविभारा स्थानीय तहको भएतापनि सबैले साझा रुपमा लाग्नुपर्ने बताइन् ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले पालिका भित्रको शैक्षिक स्थिति दयनीय भएकोले सबैले आत्मालोचना गरेर सच्चिन जरुरी रहेको बताए । विगतमा दिवा खाजा, छात्रवृत्तिलाई पारदर्शी बनाउन तातोपानी भित्रका विद्यालयमा पुगेर परिक्षामा विद्यार्थीको टाउका गन्ने अभ्यास गरेको बताउदै शैक्षिक कचहरीले समेत शिक्षा सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘गाउँगाउँमा विद्यालय खोल्नु मात्रै उपलब्धी होइन, त्यसलाई व्यवश्थापन गर्नु ठूलो कुरा हो ।’ प्रमुख प्रशासकीय अधिकृत कठायतले भने ।
तातोपानी १ बाइराँका का युवा विरेन्द्र शाहीले शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्ने लगायतका सुझाव दिएका छन् । विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, विधि सम्वत नचलेका विद्यालयलाई दण्डित गर्ने सवालमा पालिका कडा रुपमा प्रस्तुत हुनुपर्ने उनको सुझाव छ ।
तिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । स्थानीय रुद्रसिंह मल्लले कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले तातोपानी १, २ र ३ भित्रका ८ सामुदायिक विद्यालयको वर्तमान अवश्था बारे पालिका स्तरीय शिक्षा समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन अनुसार विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई मर्ज गर्नुपर्ने देखिएको छ ।
यस्तै छात्र रमेश बुढाले विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुँदा विद्यार्थीको वैयक्तिक विकास हुन नसकेको गुनासो गरेका छन् । प्रर्याप्त शैक्षिक समाग्रीको अभावले अतिरिक्त क्रियाकलाप हुन नसक्दा र विद्यालयले चासो नदिदा विद्यार्थी मारमा परेको उनको गुनासो छ । तातोपानी ४, ५ र वडा नम्वर ६ भित्रका विद्यालय लक्षित शैक्षिक कचहरी दोस्रो शृङ्खला यहि वैशाख १८ गते दुर्गा माद्यमिक विद्यालयमा हुने छ । भने भेरिखोलाका विद्यालय लक्षित शैक्षिक बहस तातोपानी ७ पातरसाँघुमा वैशाख २० गते हुने तातोपानी गाउँपालिकाले जनाएको छ । पातरसाँघुमा तातोपानी ७ र ८ का विद्यालयका समस्या र सम्भावना बारे चर्चा हुने छ ।