जुम्ला घोषणापत्र जारी गर्दै सकियो मानसिक स्वास्थ्य सम्मेलन

जुम्ला : जुम्लामा पहिलोपटक आयोजित प्रथम अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सकिएको हो ।
जुम्लामा पहिलोपटक अन्तराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार विहान उद्घाटन गरिएको छ । औपचारिक उद्घाटनसंगै सम्मेलनको सुरु भएको हो ।

नेपालमै पहिलोपटक जुम्लामा बैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रर्वतन तथा सहकार्य’ नारासहित सम्मेलन सुरु भएको थियो । सम्मेलनको शनिबार प्रतिनिधिसभा सांसद विनिता कठायतले उद्घाटन गरेकी थिइन् ।
दुईदिनसम्म सञ्चालन भएको सम्मेलनमा मानसिक रोगसम्बन्धि ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 सम्मेलन जुम्ला घोषणापत्र जारी गर्दै  मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको खाँचोका साथ सम्मेलन सम्पन्न भएको हो ।

घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पुर्‍याउन सहकार्य  गर्ने उल्लेख गरिएको छ ।

सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्नका लागि केएचएसको मनोचिकित्सा विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक/स्थानीय सरकारहरूलाई काम गर्ने अवसरहरू खोज्ने जनाइएको छ ।

सम्मेलन समापनको क्रममा  बोल्दै अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्रध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताए ।

उनले पहिलोपटक सञ्चलन गरिएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षपनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा  प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले  जुम्लामा आयोजित सम्मेलन नेपालमै पहिलोपटक आयोजना गरिएको  बताए  । उनका अनुसार सम्मेलनले कर्णालीकाे मानसिक स्वास्थ्य सम्बन्धि देखिएको समस्या समाधानमा भूमिका खेल्नेछ । सम्मेलनमा दुई सय बढीको सहभागिता रहेको थियो ।