गुठीचौर गाँउपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

गुठीचौर गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गुठीचौरले,स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुर्णखोप शुनिश्चतता हाम्रो प्रतिवद्धता,भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि स्वास्थ्य शाखाको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच गुठीचौर गाँउपालिका अध्यक्ष दान बहादुर बुढाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।

गुठीचौर गाँउपालिकाका एक वर्ष मुनिका १ सय ९८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य थियो। त्यसमा बीचमा १ सय १० जना खोप लगाउन छुटेका थिए। छुटेकालाई पनि खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाँउपालिकाका स्वास्थ्य निमित शाखा प्रमुख मनोरमा महतले जानकारी दिइन् ।

घोषणासभा पालिका खोप समन्वय समिति संयोजक तथा गाँउपालिका अध्यक्ष दान बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा खोप समन्वय समितिका सह संयोजक समेत रहेकी पालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नहुने बताइन् ।

पालिका अध्यक्ष बुढाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन पालिका प्रतिबद्ध रहेको बताए ।  । उनले स्वास्थ्यकर्मी धर्मको स्रोत भएको बताउदै, गाँउमा पुगेर सामान्य परिवारमा पुगि एउटा गरिव बालबालिकाको उपचार गर्नु ठुलो पुण्य कमाए सरह भएको बताए ।

पालिका उपाध्यक्ष भण्डारीले खोपको सवालमा पालिकाले प्रभावकारी कार्य गरेको बताइन् । उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने गरि पालिका लागेको पनि बताए । सवै प्रकारका खोपलाई प्रभावकारी बनाउनुपर्ने उनले बताइन् ।

त्यस्तै, जीवनको महत्वपुर्ण सम्पति स्वाथ्य भएको बताउदै, यो खोपले जीवन बचाउने हुँदा सबैले नछुटाउन पालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले बताएका छन् ।