हिमा गाउँपालिकाका दुई नमुना विद्यालय भवन निर्माण

जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा सुविधायुक्त मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको छ । आधारभूत तहमा बालबालिकाको आर्कषण बढाउन सुविधा सम्पन्न मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको हो ।

पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘आधार परियोजना’को करोडबढी लगानीमा दुर्गमका सामुदायिक विद्यालयमा बालमैत्री बसाई व्यवस्थापन,हिउँदको चिसो छेक्ने वाल सिलिङ गरिएका कक्षा कोठा,छात्रा छात्र छुट्टा छुट्टै शौचालय भएको,भूकम्प प्रतिरोधी लगायतका सुविधा सहितको विद्यालय भवन बनेका छन् ।

हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण सम्पन्न भएको ४÷४ कोठे बालमैत्री अपाङ्गमैत्री विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन बुधबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे ।

बुधबार आयोजित विशेष समारोहका बीच मन्त्री भण्डारीले दुई वटै विद्यालय भवनको उद्घाटनसंगै कक्षा कोठाको अवलोकन समेत गरेका छन् । दुर्गमका सामुदायिक विद्यालयमा यत्तिको सुविधायुक्त भवन बन्नु सामुदायिक शिक्षा सुधारको लागि आशा लाग्दो कार्य भएको बताए ।

हिमाले पढाई मेलादेखि सामुदायिक विद्यालय सुधारका क्षेत्रमा गरेको अभ्यासहरु अनुकरणीय रहेको समेत मन्त्री भण्डारीले उल्लेख गरे ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले दातृ निकाय संगको समन्वय सहकार्यमा हिमाले पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने वातारण सृजना गरेको बताए ।

उनले भने,‘मैत्रीपूर्ण पूर्वाधार बिना गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिदैन् । विद्यालय विद्यालय टिक्ने वाताबरण बनाउनु पालिकाको दायित्व हो । सबै काम पालिकाकै लगानीले सम्भव छैन् । त्यसका पेश नेपालले करोडबढी लगानी गरेर हिमाको शैक्षिक सुधारमा ईट्टा थपेको छ । यो कार्यप्रति गौरभान्वित छौ ।’

भैरव आधारभुत विद्यालय जोगीवाडाको चार कोठेका विद्यालय भवन कूल ६१ लख ८५ हजार ३४३ रुपैया लगानीमा निर्माण भएको हो । भने यता महादेव आधारभुत विद्यालय कुडुमा ६३ लाख दुई हजार ८६८ रुपैया लगानीमा भवन निर्माण भएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

उनका अनुसार विद्यालयको पूर्वाधार विकाससंगै कक्षाकोठा व्यवस्थापन सम्म गरी कूल एक करोड २४ लाख बढीको रकम लगानी भएको छ ।

आधार परियोजना अन्तरर्गत बनेका विद्यालय भवनहरु पालिकाको माग र आबश्यकतालाई मध्यनजर गर्दै सामुदायिक शिक्षा सुधारको लक्ष्यले निर्माण गरिएको हो छ । दुर्गमका सामुदायिक विद्यालयका भवन प्राय पुरानै जीर्ण भएकोले विद्यार्थी जोखिम मोलेर अध्यायन गर्न बाध्य छन् ।

हिमामा भनेका दुई वटै विद्यालय भवन भुकम्पीय जोखिमका दृष्टिले पनि निकै मजबुद भएकोले बालबालिका ढुक्कले पढ्न सक्नेमा अध्यक्ष न्यौपानले जोड दिए ।

जुम्लाका अधिकांश सामुदायिक विद्यालय म्रैत्रीपूर्ण नभएकै कारण महिनाबारी भएका बेला किशोरी विद्यालय नजाने,पानीको सुविधा नहुने,सफा शौचालय,फराकिलो कक्षा कोठाको अभाव जस्ता समस्याले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण घट्दो छ ।

तर स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन विभिन्न अभ्यास गरेपनि सामुदायिक शिक्षा अपेक्षित रुपमा सुधार भने हुन सकेको छैन् ।

मैत्रीपूर्ण विद्यालय भवन बनेसंगै विद्यालयमा बालबालिकाको पहुँच बृद्धिहुनेमा हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही विश्वस्त छिन् । पूर्वाधारसंगै शिक्षकहरुको क्षामता विकासमा पनि जोड दिनुपर्ने उनको भनाई छ ।