दुर्गा माविमा भएको घटनाको विषयमा छानबिन समिति गठन

जुम्ला : जिल्लाकाे तातोपानी -५ स्थित दुर्गा मावि लाम्रामा भएकाे घटनाकाे विषयमा अध्ययन गनर्न छानबिन समिति गठन गरिएकाे छ । असार ११ गते स्कुलमा भएकाे घटनाकाे यथार्थ छानबिन गर्न ताताेपानी गाउँपालिकाले समिति गठन गरेकाे हाे । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरिएकाे जनाएकाे छ ।

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँका अनुसार तातोपानी-६ का वडाअध्यक्ष विशाल खड्काकाे संयाेजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएकाे हाे । छानबिन समितिको सदस्यमा वडा नम्बर ३ का वडाअध्यक्ष गोकर्ण रावल, ४ नम्बर वडाका वडाअध्यक्ष अमर बहादुर रोकाया, महिला विकास तथा बालबालिका शाखा प्रमुख शान्ती भक्री सेजुवाल र शिक्षा विकास शाखा प्रमुख श्री सुरत बहादुर शाही रहेका छन् ।

गाउँपालिकाद्वारा गठित समितिले अबको ७ दिन भित्र सत्यतथ्य छानबिन गरी सोको प्रतिवेदन गाउँ कार्यपालिकालाई बुझाउनेछ । समितिबाट प्राप्त प्रतिवेदनको अध्ययन पश्चात दोषिलाई आवश्यक कारवाही गरिने अध्यक्ष चाैलागाईँकाे भनाइ छ ।

अध्यक्ष चाैलागाईँद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,` दुर्गा माविमा मिति २०८१ असार ११ गते विद्यालय समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदि प्रसाद न्यौपाने, नि.मा.वि. शिक्षक जय शंकर धिताल र शिक्षक श्री टेक बहादुर रोकाया बीच आपासी विवाद पश्चात ढुङ्गामुढा र हातपात भएको खबरप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

जिम्मेवार व्यक्तिहरुबाट नै यस प्रकारका घृणित र लज्जास्पत कार्यबाट सिंगो गाउँपालिकाको बदनाम हुनुका साथै निजहरुबाट शैक्षिक क्षेत्रको सुधारको अपेक्षामा तुषारापात भएको छ। विद्यालय जस्तो शान्ती क्षेत्रमा यस प्रकारको अमानवीय कार्यको जति नै भत्सर्ना गरेपनि कम हुन्छ । ´

आगामी दिनमा यस प्रकारका कार्यहरु विद्यालय हाताभित्र दोहोरिन नशदिई बालबालिकाले शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न दोषिलाई कडा भन्दा कडा कारवाही गर्न गाउँपालिका प्रतिवद्व रहेकाे जनाइएकाे छ ।