जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा १४ वर्षीया किशोरी आफ्नै घरभित्र मृत अवस्थामा फेला 

जुम्ला -जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–२ जर्मी बस्ने वमबहादुर रावलकी छोरी पुष्पा रावल मंगलबार बिहान आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे मृतक किशोरीलाई घरभित्र मृत अवस्थामा देखेपछि परिवारका सदस्यले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएका थिए। त्यसपछि बिहान १०:२५ बजे वडा अध्यक्षमार्फत प्रहरी चौकी लिताकोट जुम्लालाई घटनाबारे सूचना दिइएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी लिताकोटबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनास्थल प्रहरी चौकी लिताकोटबाट करिब २ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १० किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी टोली बिहान ११ बजे घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको र त्यसपछि शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। पोस्टमार्टम प्रक्रिया दिउँसो सम्पन्न भई मृतकका परिवारले शव बुझिलिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।