जुम्ला : जिल्लाकाे चन्दननाथ नगरपालिकामा बुधबार राति ताेडफाेड भएकाे छ । बुधबार राति १० बजेतिर अज्ञात व्यक्तिहरूकाे समुहले नगरपालिकामा ताेडफाेड गरेकाे हाे । रातिकाे समयमा ताेडफाेड र ढुंगामुढा हुँदा कराेडाैकाे क्षति पुगेकाे छ । बसपार्कबाट ट्याक्टरमा नारा जुलुससहित आएकाे टाेलीले नगरपालिकामा ताेडफाेड गरेकाे थियाे ।
उक्त समुहले नगरप्रमुख र उपप्रमुखकाे कार्यकक्ष र नगरपालिकाकाे भवनकाे सिसा फुटाइदिएकाे छ । यस्तै
८२ लाख मूल्यकाे दमकल,३८ लाख ९९ हजार रूपैयाँ मूल्यकाे स्काभेटरसमेत ताेडफाेड गरिएकाे छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकामा अनावश्यक ताेडफाेड हुनु निन्दनीय भएकाे बताए । यस्तै नगर उपप्रमुख रामदेवी खड्काकाे घरमा समेत क्षति पुर्याइएकाे छ ।
उपप्रमुख खड्काले आफ्नाे घरमा समेत ढुंगामुढा गरिएकाे बताइन् । उनका अनुसार सामान्य विषयमा अराजक रूपमा ताेडफाेड गरिनु दुःखद कुरा हाे । नगरपालिका ताेडफाेडमा संलग्नलाई कारबाही हुनुपर्ने उनले बताइन् । नगरपालिकाले रातिकाे समयमा ट्याक्टर चढेर आइ कार्यालय हाताभित्र प्रवेश गरि अपरिचित व्यक्तिहरूले हुल हुज्जत गरि कायर्यालय भवनका झ्यालका सिसाहरू साथै दमकल र डाेजरमा समेत ताेडफाेड गरि सरकारी सम्पति हानी नाेक्सानी गनर्ने विरूद्व कडा कारबाही गर्न माग गरेकाे छ ।
बुधबार राती बसपार्क नजिक पद्मा आचार्य अधिकारीकाे ग्यारेजमा आगलागी भएकाे थियाे । आगलागी लगत्तै पीडित पक्षले दमकल माग गरेका थिए । तर दमकल बिग्रेका कारण आगाे निभाउन जान सकेन । पछि उक्त समुहले नगरपालिका ताेडफाेड गरेकाे हाे ।
उता जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार ताेडफाेडमा संलग्न दुई जनालाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३३ वर्षीय मानव महत र वडा नम्बर ७ का कटक बहादुर राेकाया राेकाया रहेका छन् । अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
जुम्ला दर्पण । १३ असार २०८१, बिहीबार १५:५८