विपी स्मृति दिवसकाे अवसरमा जुम्लामा बृक्षाराेपण

जुम्ला : ४२ औँ विपी स्मृति दिवसकाे अवसरमा जुम्लामा बृक्षाराेपण गरिएकाे छ । दिवसकाे अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालय जुम्लाकाे प्रांगणमा बृक्षाराेपण गरिएकाे हाे । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा मंगलबार विपी स्मृति दिवस देशभर मनाइदैछ ।

साेही अवसरमा जिल्लामा पनि बृक्षाराेपण गरिएकाे जिल्ला सचिव अर्जुनसिंह कठायतले बताए । बृक्षाराेपणमा जिल्लाका नेता कार्यकर्ताहरू सहभागी थिए ।

जिल्ला कार्यावाहक सभापति कार्मा बुढाले विपी नेपाली राजनीतिका आदर्श व्यक्तित्व भएकाे बताए । उनका अनुसार विपी काेइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता हुन् ।

कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।