जुम्लाकाे सरकारी टाेली बाजुराकाे बडिमालिका प्रस्थान

भक्तजनद्वारा भव्य विदाइ

जुम्ला : जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बडिमालिकातर्फ प्रस्थान गरेको छ । कालिकोट र बाजुराको सिमानामा पर्ने प्रसिद्ध धामर्मिक स्थल बडिमालिका प्रस्थान गरेकाे हाे ।

जुम्लाबाट बढिमालिका प्रस्थान गरेको सरकारी टोलीलाई बिदाइ गर्दै स्थानीय । तस्बिर : शुभाकर विश्वकर्मा

सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका माइको पुजामा हरेक वर्ष जुम्लाबाट सरकारी टोली जाने परम्पराअनुसार हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिका जाने गर्छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मिनबहादुर रावलकाे नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

उनका अनुसार शुक्रबार गएको टोली कृष्णजन्मअष्टमीको अघिल्लो दिन अर्थात् १७ दिन लगाएर जुम्ला फर्किनेछ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृविद् रमानन्द आचार्यले बताए । नेवार समुदायका जानकार चित्रलाल श्रेष्ठले साढे तीन सय वर्षदेखि जुम्लाकाे टाेली बडिमालिका जाने गर्दछ ।

नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई फूलमाला अबिर सहित बिदाइ गरिएको हो।

संस्कृतविद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामान(पेटारो) नामक झोलीमा राखेर पूजाका लागि पठाइएको छ ।


प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बडीमालिका जाने टोलीको सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको बताए ।

विगतका केही वर्ष कोरोना कारण सीमित व्यक्ति मात्रै बडिमालिका गएका थिए । यस वर्ष भक्तजनको उत्साह निकै बढेको देखियो । त्यसैले टोलीको सुरक्षालाई मजबुद बनाइएको उनको भनाइ छ ।