गुणस्तरहीन मलबारे अनुसन्धान गर्न ५ सदस्यीय छानविन समिति गठन

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले किसानलाई अनुदानमा वितरण गरेको गड्यौला मल गुणस्तरहीन भेटिएपछि छानविन समिति गठन गरेको छ । जनतासंग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८१/०८२ मा खरिद गरिएको गड्यौला मलमा रातोमाटो जस्तो भेटिएको थियो ।

सो विषयमा अनुसन्धान गर्न ५ सदस्यीय छानविन समिति गठन गरिएको हो । उक्त मल चितवनस्थित दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रा.लि.ले उपलब्ध गरेको सो मलमा रातोमाटो भेटिएपछि किसानले मलको गुणस्तरबारे प्रश्न राखेका थिए ।

उक्त विषयमा चौतर्फी विरोध भएपछि गाउँपालिकाले वडा नम्बर ४ का वडा अध्यक्ष अम्मर बहादुर रोकायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई ७ दिनको समय अवधि दिइएको छ । समितिले मलका सम्बन्धमा भएका गडबडीका विषयमा छानविन गरी प्रतिवेदन प्रस्तुत गर्नेछ । गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिकाे सदस्यहरूमा वडा नम्बर ३ का गाेकर्ण रावल, वडा नम्वर ६ का वडा अध्यक्ष विशाल खड्का  र वडा नम्बर ८का वडा अध्यक्ष नर बहादुर रावत र सदस्य सचिव कृषि विकास अधिकृत माेहन सिंह महत छन् ।