जुम्ला : लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाएका छन् । आइतबार बुझाएको प्रतिवेदन अनुसार लोकसेवा पास हुनेमा जुम्लाका सबैभन्दा धेरै रहेको उल्लेख छ । जिल्लागत रूपमा सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने उत्कृष्ट पाँच जिल्लामा जुम्ला सबैभन्दा अगाडि छ ।
जुम्लासँगै स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौँ रहेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा देशभर सबैभन्दा धेरै जुम्लाका ११५ जनाले लोकसेवा उर्तीण गरेका छन् । दोस्रो स्थानमा रहेको स्याङ्जाका (९२) जना,गुल्मीका (८०) जना, धनुषाका (७२) र काठमाडौँका (७१) रहेका छन् । मुस्ताङबाट एक जना मात्र सिफारिस भएभने मनाङबाट यस वर्ष कुनै उम्मेदवार सिफारिस हुन सकेनन् ।
सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको छ । सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट परेका थिए भने न्यून दरखास्त मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट आएका थिए । यस वर्ष दरखास्त दिने उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको छ । स्थायी नियुक्तिका लागि निजामती सेवातर्फ २,५८३ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ९ जना गरी कुल २,५९२ उम्मेदवार सिफारिस भएका छन । यसमध्ये महिला ९०२ र पुरुष १,६९० रहेका छन् ।

शुभाकर विश्वकर्मा । ५ आश्विन २०८२, आईतवार १९:४१