दर्पण संवाददाता,जुम्ला
जुम्लाको सिंजा गाउँपालिका हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातको माछाको भुरा संरक्षण गर्ने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए । असला माछाका भुरा संरक्षणमा पालिका लागी परेको उनले बताए । अध्यक्ष धितालले भने,‘नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न दिइने छैन ।
विद्युतीय सामग्री, गोला बारुद् र मक्षर झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ ।’ हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारीत गरेर सिंजा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका पशुपंक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको बताए । नदीमा माछा मार्नको लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्ने लगायतका कार्यले असला जातका माछाहरु लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको भन्दै गाउँपालिकाले त्यस्तो कार्य निरुत्साहित गर्ने नीति लिएको बताए । माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माण मै यो कार्यक्रम पारित गरेको संयोजक धितालले बताएका हुन् ।
खस भाषाको जन्म थलो समेत रहेको सिंजा गाउँपालिका पर्यटनका लागि सम्भावना बोकेको गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष धिताले जानकारी दिए । गाउँपालिकाको पशुपन्छि शाखाका अनुसार यदि कसैैले नदीमा गएर माछाको भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरी चौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोध समेत गरेको छ ।
जुम्ला दर्पण । १४ श्रावण २०७९, शनिबार १८:२७