जुम्लामा जात्राकाे तयारी : मदिरा प्रतिबन्धदेखि सीसीटीभीकाे निगरानीसम्म

जुम्ला : यहीँ भदाै ४ गतेदेखि कर्णालीकै लामाे र ठुलाे जात्रा सुरू हुदैछ । साताव्यापी रूपमा सञ्चालन हुने जात्रालाई भव्य र सभ्य रूपमा सञ्चालन गर्नकाे लागि जात्रा समिति गठन गरिएकाे छ ।

  बुधबार जात्रालाई शान्तिपूर्ण ढंगले सञ्चालन गर्नकाे लागि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेकाे संयाेजकत्वमा  सुरक्षा निकाय र सराेकारवालाकाे बैठक बसेकाे थियाे । उक्त बैठकले १४ वटा निर्णय गरेकाे छ ।

जात्रा अवधीभर मादक पदार्थ बेचबिखन तथा सेवन गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने, खानेपानीको व्यवस्था गर्न खलङ्गा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ जुम्लालाई अनुरोध गर्ने र  अस्थाई स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वस्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरिएकाे छ ।

जात्रालाई शान्तिपूर्ण बनाउन गरिएका निर्णयहरू ।

यस्तै  जात्रा अवधीभर ट्राफिक व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय जुम्लालाई अनुरोध गर्ने, विद्युत व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लालाई अनुरोध गर्ने तथा अस्थायी शौचालय र फोहोर व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ र चन्दननाथ नगरपालिकालाई अनुरोध गर्ने निर्णय प्रजिअ घिमिरेले बताए ।

उनका अनुसार जात्रा अवधीभर निर्णय कार्यान्वयनको लागि विषयगत कार्यालय, नागरिक समाज र स्थानीय तह समेत रहेको अनुगमन तथा सहजीकरण समिति गठन गर्ने, जात्रा अवधीभर स्वयं सेवक परिचालनको लागि नगर प्रहरी,एनसीसी अल्मुनाई र नेपाल स्काउटलाई अनुरोध गर्ने, जात्रा अवधीभर जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रणको लागि सबै सुरक्षा निकायसँग समन्वय गरिनेछ ।

जात्रा अवधीभर जात्रा सञ्चालन हुने स्थानमा आपतकालीन अवस्थाको लागि वैकल्पिक मार्ग राखेर मात्र जात्रा सञ्चालन, जात्रा अवधीभर रकम माग गरि सर्वसाधारणलाई हैरानी गर्न नपाउने निर्णय भएकाे भनाइ छ ।

  जात्रा अवधीभर नगरपालिकाबाट जात्रा प्रदर्शन हुने स्थानमा सीसीटिभी क्यामेरा जडान गरिदिने,  जात्रा अवलोकनको लागि बालबालिका, अशक्त र जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिने र जात्रा अवधीभर जात्रा संचालन हुने समय र क्षेत्रमा एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेश गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएकाे छ ।

सांस्कृतिक र सामाजिक महत्त्व  रहेकाे जात्रालाई शान्तिपूर्ण,भव्य र सभ्य बनाउन सबैकाे भुमिका महत्त्वपूर्ण रहेकाेमा प्रजिअ घिमिरेले जाेड दिएका छन् । चन्दननाथ नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामदेवी खड्काले जिल्लाकाे महत्त्वपूर्ण जात्राकाे व्यवस्थापनलाई ध्यानदिनुपर्ने बताइन् ।

जात्रा समितिका अध्यक्ष अशाेक श्रेष्ठलाई समावेशी,बहुउपयाेगी बनाउन समिति लागि परेकाे बताएका छन् । जुम्लामा वि.स. १९५३ देखि जात्रा सुरू भएकाे हाे । जात्रा ११ गते सकिनेछ ।