तिलामा २०८०/०८१काे सावर्जनिक सुनुवाइ : ८० प्रतिशत बजेट खर्च

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को शुक्रबार सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकामा वर्षभरि संचालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । पालिकाले आव २०८०।८१ मा ५१ करोड २४ लाख ३७ हजार ७९७ अनुमानित बजेट ल्याएको थियो । यसमा कुल बजेटको ८० दशमलव ०१ प्रतिशत खर्च गरेको छ ।

चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगततर्फ ५८ दशमलव ०८ प्रतिशत खर्च भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले प्रस्तुत गरेको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।


यस्तै पालिकाले आव २०८०/०८१ मा १८ लाख २६ हजार आन्तरिक राजस्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए।

विकास निर्माणका काम लाई गति दिनका लागि पालिकाले ठुला योजनालाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ । संघीय विशेष र समपुरक अनुदान र प्रदेशको विशेष र समपुरक अनुदानबाट गाउँपालिकाद्धारा कार्यान्वयन भएका गौरबका योजना निर्माण भई संचालनमा आएकाछन् ।

जसमध्ये गाउँपालिकाको प्रशासकीय भवन,तलिचौरदेखी लासिसम्म तटबन्धन निर्माण,कुडारी बजारदेखी डुङ्गि गाउँसम्म सडक स्तरउन्नती,राँसादेखी नदैगुफा सडक निर्माण,दश शैया अस्पताल निर्माणधिन अवस्था,रासाँदेखि पुरु हुँदै जुम्लाकोट मानेचौरसम्म सडक निर्माण,रारा खानेपानी योजना निर्माणधिन र वडा नं. ५ को वडा कार्यालय निर्माण भएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

तिला गाउँपालिकाकाको आयोजनामा तथा तातोपानी मल्टिमिडिया प्रा.ली.को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण पत्रकार विजय रावत र शुभाकर विश्वकर्माले गरेका थिए । कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागि साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन्।

सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख,सुरक्षाकर्मी,पत्रकार तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।