जुम्ला : जिल्लाको तातोपानी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा कूल ८१.५१ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको पुँजीगत बजेट खर्च ७५.७६ र चालू बजेट खर्च ८४.३३ प्रतिशत रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतका अनुसार चालू आ.व.मा गाउँपालिकामा कूल विनियोजित बजेट ५३ करोड ७९ हजार ५०९ रुपैयाँ थियो । हालसम्म कूल ४३ करोड २० लाख ६८ हजार ८३१ रुपैयाँ खर्च भएको छ ।
चालू तर्फ कूल विनियोजित ३५ करोड ५७ लाख ६४ हजार ५०९ रुपैयाँ मध्ये हालसम्म ३० करोड १४ हजार ३०३ रुपैयाँ खर्च भएको कठायतले जानकारी दिए । ५ करोड ५७ लाख ५० हजार २०५ रुपैयाँ चालू बजेट मौज्दात रहेको छ ।
यस्तै पुँजीगत तर्फ कूल १७ करोड ४३ लाख १५ हजार रुपैयाँ मध्ये हालसम्म १३ करोड २० लाख ५४ हजार ५२८ रुपैयाँ खर्च भएको उनको भनाइ छ । ९ करोड ८० लाख १० हजार ४७२ रुपैयाँ पुँजीगत बजेट मौज्दात रहेको छ ।
गाउँपालिकाका लेखापाल शिवराज न्यौपानेले चालू आर्थिक वर्षको हालसम्म कूल ५० करोड ४१ लाख ६४ हजार १८३.८९ रुपैयाँ निकासा गरेको बताए ।
उनका अनुसार हालसम्म ४३ करोड २० लाख ६८ हजार ३८१.९८ रुपैयाँ खर्च भएको छ । निकासाको आधारमा कूल खर्च प्रतिशत ८५.७० रहेको गाउँपालिकाले जनाएको छ ।

जुम्ला दर्पण । २६ असार २०८२, बिहीबार १५:३०