को बन्ला कर्णालीको उपकुलपति : यी हुन् नेपाली कांग्रेसको कोटाबाट छोटो सूचिमा परेका ६ जना

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई महिनादेखि उपकुलपति पद रिक्त छ । तत्कालीन उपकूलपति डा.मंगलबहादुर रावलको पदावधि सकिएपछि उक्त पद रिक्त छ । सह.प्रा.डा. डबल बहादुर धामी अहिले निमित्त उपकूलपति छन् । कर्णालीसहित देशभरका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति रिक्त छ । उपकुलपतिका लागि यसअघि स्वास्थ्य मन्त्रालयले असार ४ गते दरखास्त आह्वान गरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिका लागि १५ जनाले दरखास्त दिएका थिए ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विजय अर्याल, प्राडा शेषनन्द सञ्जेल, डा उत्सव चापागाईं, प्राडा प्रमोदकुमार सर्राफ, डा पवनजंग रायमाझी, डा पुजन रोकाया, प्राडा सूर्यमान मेन्याङ्बो, डा एलिजा श्रेष्ठ, डा डबलबहादुर धामी, डा कालु शर्मा सुवेदी, डा विष्णुप्रसाद शर्मा, डा प्रमोद यादव, प्राडा श्रीकृष्ण गिरी, डा लक्ष्मीनारायण सिंह र डा अरुणकुमार सिंहले आवेदन दिएका थिए ।

मंगलबार मन्त्रालयले चार वटै प्रतिष्ठानका उपकूलपतिको उम्मेदवारको सूचि सार्वजनिक गरेको छ । चार वटा प्रतिष्ठानको उपकूलपतिका लागि मन्त्रालयले २४ जनाको सूचि सार्वजनिक गरेको हो । ती मध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा आवेदन दिएका ६ जनाको नाम सार्वजनिक गरेको छ ।

सह.प्रा.डाहरु एलिजा श्रेष्ठ र डबल बहादुर धामी, पुजन कुमार रोकाया,डा.पवन जंग रायमाझी, प्रा.डा. श्रीकृष्ण गिरी र प्रा.डा. सूर्यमान मेन्यान्ग्वो सर्ट लिष्टमा परेका छन् । सत्ताधारी दल एमाले र नेपाली कांग्रेसबीच २(२ प्रतिष्ठानको नेतृत्व लिनेगरी भागबन्डा मिलेको छ । पोखरा र पाटनमा एमाले को भाडमा परेको छ भने वीपी र कर्णाली नेपाली कांग्रेसको भागमा परेको छ । कर्णालीमा ६ जनाको सूचिसमेत सोही अनुसार सार्वजनिक भएको छ । कर्णालीको उपकूलपतिको सर्ट लिष्टमा परेका मध्ये गिरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पूर्व रजिष्ट्रार हुन् ।

विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । श्रेष्ठ,धामी र रोकाया भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कार्यरत छन् । धामी यसअघि शिक्षाअध्यक्ष थिए । मंगल रावल विदा भएपछि उनी निमित्त उपकूलपति छन् । रोकाया भने अस्पताल निर्देशक छन् । रायमाझी हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् । उनी यसअघि भेरी अस्पताल नेपालगन्जको प्रमुख थिए ।

अब ६ जनाको अन्तर्वार्तामार्फत ३ जना छानेर १२ जनाको नाम प्रतिष्ठानको कुलपति रहेका प्रधानमन्त्री केपी ओली समक्ष पेस गर्नेछ। सार्वजनिक सूचना अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण लागि साउन २२ र २३ गते मिति तोकिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि २३ गते अन्तर्वार्ताको मिति तोकिएको छ । अन्तर्वार्ताको आधारमा उपकुलपतिको चयन हुनेछ।