तातोपानीमा बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीको दुई दिने क्षमता विकास तालिम सम्पन्न

जुम्ला – तातोपानी गाउँपालिका, जुम्ला । बालिकाको शिक्षा पहुँच विस्तार र समावेशी शिक्षामा प्राथमिकता दिने उद्देश्यले तातोपानी गाउँपालिका स्तरीय ‘बालिका तथा समावेशी शिक्षा संजाल’ का पदाधिकारीलाई प्रदान गरिएको दुई दिने क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपालद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको आयोजनामा मङ्गलबारदेखि तालिम सुरु भएको थियो। तालिमको मुख्य उद्देश्य संजालका पदाधिकारीहरूलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीबारे स्पष्ट जानकारी दिनु र भविष्यमा अपेक्षित उपलब्धि हासिल गर्ने दिशामा कार्ययोजना तयार गर्नु रहेको परियोजना संयोजक (शिक्षा) खेमराज लामिछानेले जानकारी दिए।

उनका अनुसार, बालिका तथा समावेशी शिक्षा संजाल गठन हुनुको मुख्य कारण दलित, विपन्न र सीमान्तकृत समुदायका बालिकालाई शिक्षामा प्राथमिकता दिलाउनु र विद्यालयमा उनीहरूको पहुँच सुनिश्चित गर्नु हो। यसका लागि पदाधिकारीहरूबीच नेतृत्व क्षमता, योजना निर्माण र कार्यान्वयनको दक्षता विकास गर्न तालिमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तालिममा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा पत्रकारहरूको सक्रिय सहभागिता थियो। दोस्रो दिनको सत्रमा सहभागीहरूले विभिन्न विषयमा छलफल गर्दै आगामी वर्षका लागि ठोस कार्ययोजना निर्माण गरेका थिए।

तातोपानी गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख गुरुप्रसाद चौलागाईंले तालिममा बनेको कार्ययोजना निरन्तर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निमित्त प्रमुख प्रशासकीय अधिकृत अंग राज डागीले अबका दिनमा यस किसिमका स्तरीय कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए।

स्थानीय सरोकारवाला अनुसार, यस तालिमले विद्यालयहरूमा समावेशी शिक्षा प्रवर्द्धन, बालिका शिक्षाको अवस्था सुधार र समुदायस्तरमा चेतना अभिवृद्धिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।