जुम्लाको तातोपानी गाउँपालिकाका वडा नं. ७ र ८ का विद्यालयहरूमा संयुक्त अनुगमन गरिएको छ। तातोपानी गाउँपालिका, सेभ द चिल्ड्रेन, किर्डाक नेपाल तथा सहयात्रा तेस्रो परियोजनाको संयुक्त अनुगमन टोलीले शिक्षा क्षेत्रमा भएका लगानी, प्रगति तथा दिगो व्यवस्थापनका विषयमा विशेष छलफल गरेको हो।
मंसिर ३ र ४ गते गरिएको अनुगमनका क्रममा तातोपानी–७ काटिया सर्मीस्थित जनता सेवक आधारभूत विद्यालयका प्रधानाध्यापक कालीबहादुर शाहीले पहिलेको तुलनामा हाल विद्यार्थी नियमितता बढेको र सिकाइमा पनि सुधार आएको बताए। गाउँपालिका र किर्डाक नेपालको सहयोगमा बसाइ व्यवस्थापनदेखि शैक्षिक सामग्री उपलब्ध गराइएकाले सकारात्मक प्रभाव परेको उनको भनाइ छ। आगामी दिनमा भौतिक संरचनातर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै विद्यालयमा घेरावारको समस्या रहेको र समाधानका लागि पालिकाप्रति आशावादी रहेको गुनासो गरे।
त्यसैगरी तातोपानी–७ कै अर्को ठूलो विद्यालय जनजागृति माध्यमिक विद्यालय, बारागाउँमा पनि उल्लेखनीय सुधार देखिएको विद्यालय प्रशासनले जनाएको छ। दुर्गम क्षेत्र भएकै कारण पहिला शिक्षाको कमी र जनचेतनाको अभावमा विद्यार्थीहरू घरायसी काममा व्यस्त हुने गरे पनि पछिल्लो समय विद्यालय नियमितता बढेको पाइएको छ। विद्यालयका प्रधानाध्यापक अम्मरबहादुर रावतका अनुसार पालिका, सेभ द चिल्ड्रेन, किर्डाक नेपाल तथा सहयात्रा तेस्रो परियोजनाको सहयोगले शिक्षक तालिम, शैक्षिक सामग्री, खेलकुद सामग्री, किशोरी अभिमुखीकरण तथा हरित विद्यालय कार्यक्रममार्फत विस्तारै सकारात्मक परिवर्तन देखिन थालेको छ।
यता तातोपानी गाउँपालिकाका योजना शाखा प्रमुख ओमबहादुर चन्दले नेपाल सरकारको बढ्दो गरिबीका कारण यस्ता सहयोग सधैं निरन्तर नहुन सक्ने बताए। हाल पालिका तथा साझेदार संस्थाबाट प्राप्त सामग्रीको दिगो व्यवस्थापन र सुरक्षामा विद्यालय स्वयं जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
तातोपानी–७ कै दुर्गा माध्यमिक विद्यालय, मधुमा पनि हरित विद्यालय कार्यक्रम तथा छापामय कक्षाकोठा सञ्चालनमा रहेको अनुगमन टोलीले अवलोकन गरेको छ।
त्यसैगरी तातोपानी–८ टोप्लामा रहेको कालिका माध्यमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म रंगिन भित्तेचित्र बनाउने योजना रहेको विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए। शिक्षा गुणस्तर सुधारका लागि गाउँपालिका, सेभ द चिल्ड्रेन, किर्डाक नेपाल तथा सहयात्रा तेस्रो परियोजनाको सहयोगले ठूलो राहत मिलेको उनले बताए। बसाइ व्यवस्थापन, पठनपाठन वातावरण, दिगो व्यवस्थापन तथा सामग्री सुरक्षामा जिम्मेवारी स्पष्ट रूपमा तोकिएको र बालबालिकाको विद्यालय निरन्तरता पनि कायम रहेको उनको भनाइ छ। भौतिक संरचना पुनर्निर्माण भइसकेका र सिकाइ उपलब्धिमा पनि सुधार देखिएको उनले बताए।
सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक रामबहादुर रावतका अनुसार संस्थाले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरिएको हो। दुर्गम क्षेत्रका विद्यालयमा अपेक्षित जति सुधार नदेखिए पनि अघिल्लो अवस्थाभन्दा फरक देखिनु सकारात्मक संकेत भएको भन्दै आगामी दिनमा समुदाय र विद्यालयको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरे।

डिल्ली कामी । ५ पुष २०८२, शनिबार ०८:२४