बुबा कांग्रेसबाट मेयरका आकांक्षी,छोरा जेनजी जुम्लाका अगुवा

जुम्ला : उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका गणेश रोकाया पेसाले शिक्षक हुन् । उनले २९ वर्ष शिक्षण पेसा अंगाले । उद्यमी गत वर्ष ब्रेन ह्याम्रेज भएपछि रोकायाले अहिले मुख्य रुपमा व्यवसायलाई केन्द्रित गरेका छन् । तीन महिनाअघि प्रकाशित विएल मिडियासँगको अन्र्तवार्ताका क्रममा रोकायाले आफू मेयरको आंकाक्षी भएको अनौपचारिक रुपमा स्वीकार गरेका छन् ।

अन्र्तवार्तामा पत्रकारले उनलाई आफूले जुम्लाका केही मान्छे भेटेको र बजार क्षेत्रकै मान्छेहरुसँग कुरा कुरा हुँदा अबको नेतृत्व गणेश रोकाया जस्तो मान्छेले पाउनुपर्छ भन्ने खालको आवाज उठ्न थालेको रहेछ यो आवाजहरु साचो हो ? प्रतिउत्तरमा रोकाय भन्छन्,‘ मलाई राजनीतिमा त्यति चासो छैन । मैले दुई काम गरे । एउटा शिक्षण अर्को व्यवसाय गरिरहेको छु । पढाउने र व्यवसाय गर्ने क्रममा धेरै साथीहरुसँग काम गर्ने मौका पाए । सबैले माया दिएको अवस्था छ । तर राजनीतिमा चाहना छैन । ’

उनले अहिलेको अवस्था हेर्दा राजनीति र नेतृत्वमा टे«न बसाल्न केही गर्न कहिले काँही सोच आउने गरेको बताएका छन् । बजारमा हुने हल्लाहरु आफूले पनि सुन्ने गरेको भन्दै रोकायाले चुनाव आउन दुई वर्ष बाँकी रहेकोले समयले कुन मोड लिने हो भन्न नसक्ने भनाइ छ । थप प्रष्ट पार्दै उनी भन्छन्,‘ तर मेरो इच्छा के छ भने, अलि पढेलेखेका,केही गरौ भन्ने जुन सुकै पालिका र पार्टीका भएपनि राम्रो आउनु पर्छ भन्ने छ ।’ फेरि रोकायालाई ती पत्रकार प्रश्न गर्छन्,‘मैले चन्दननाथ नगरपालिकाको नेतृत्व गर्न पाए भने चन्दननाथ र सिंगो जुम्लालाई चिनाउथे भन्ने चाही मनमा छ होला ?

उत्तर प्रश्नमा रोकायाले मुस्कुराउँदै मै त नभनौ भन्दै जो आएपछि राम्रो मान्छे आउनुपर्नेमा जोड दिएका छन् । योजनाबद्ध रुपमा आएको बजेटलाई सही सदुपयोग गर्नुपर्नेमा उनको जोड देखिन्छ । कुनै कारणले आफू चुनाव उठ्नु पर्यो, जितेको खण्डमा स्रोतहरुको सही परिचालन गर्ने बताए । उनले योजनाबद्ध रुपमा धेरै विकास गर्न सकिनेसमेत जिकिर गरेका छन् । उनको कुरा सुन्दा आकांक्षा भएपनि औपचारिक रुपमा स्वीकार गर्न भने सकेका देखिदैनन् ।
उसो त रोकाया नेपाली कांग्रेस पृष्ठभूमिका हुन् । उनी उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीहरुको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । अहिले अध्यक्ष रहेका पुरीचन्द्र देवकोटा नेतृत्वको प्रजातान्त्रिक प्यालनबाट रोकाया उम्मेदवार बनेको चुनाव जितेका हुन् । आगामी २०८४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिकाको मेयरको लागि प्रमुख दावेदारका रुपमा समेत हेरिएको छ । पार्टीले टिकट नदिए स्वतन्त्र रुपमै चुनाव लड्ने मनस्थितिमा रोकाया रहेको उनी निकट स्रोतको दाबी छ ।
यसरी आधिकारिक नेपाली कांग्रेसको पृष्ठभूमिका रोकायाका छोरा शैलेस रोकायालाई जेनजी जुम्लाको आधिकारिक नेतृत्व प्रदान गरिएको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा जुम्लामा समेत युवाहरुले प्रदर्शन गरेका थिए । भदौ २४ गते जिल्लास्थित चन्दननाथ नगरपालिका र पार्टी कार्यालय तोडफोड भएका थिए । जिल्लामा हुने गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनको निम्ति समुह गठन गरिएको हो । जेनजी उमेर समुहका युवाहरूले जिल्लामा खरो रुपमा कार्य गर्ने मुख्यत भ्रष्टाचार विरुद्ध आवाज उठाउने र भ्रष्टाचार गर्ने जोसुकै कारबाहीको दायरामा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जेनजी जुम्लामा विगतमा विभिन्न पार्टी र भातृ संगठनमा आवद्ध रहेका छन् ।