जुम्लाका टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त

काठमाडौं । जुम्लाका टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक ‘प्रमुख’ मा नियुक्त भएका छन् । उनलाई आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो ।
विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो । उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ । सरकारले नियुक्त गरेका प्रमुख कार्की अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रुपमा कार्यरत थिए । प्रहरी संरचनामा उक्त पद एआईजीस्तरको मानिन्छ ।

विभागको प्रमुखका निम्ति कार्कीसँगै अर्का अतिरिक्त मुख्य अनुसन्धान अधिकृत ओम जोशी प्रतिस्पर्धामा थिए । कार्की जुम्लाको चन्दननाथ नगरपालिकाका स्थायी बासिन्दा हुन् । जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ । उनको नियुक्तसँगै गृह जिल्ला जुम्लामा खुसीयाली छाएको छ । सिंगो कर्णालीमा सुरक्षा निकायको सर्वोेच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति भएको भन्दै विशेषगरी जुम्लाका नागरिकले उनलाई बधाइ दिइरहेका छन् ।