नरेश भण्डारीका योजना :तिला जवा जलविधुत,सिञ्जा सभ्यता विकासदेखि साँस्कृतिक राजधानीसम्म

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै उनले भने, निर्वाचित भएर तीन वर्ष सम्म माखो मारेनन् । सबैथोक आफुले गरेको भनेर अफवाह फैलाईरहेको छ ।

जुम्ला । नेपाली कम्युनिष्ट पार्टी जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले आफ्ना चुनावी प्राथमिकता अघि सारेका छन् । नेकपाको निर्वाचन परिचालन कमिटिद्वारा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले आफ्ना चुनावी प्राथमिकता सार्वजनिक गरेका हुन् । उक्त अवसरमा उनले सडक, पूर्वाधार, जलविधुत, भाषा,सास्कृतिक तथा सभ्यताको संरक्षण र विकास गरी मोडेल जिल्ला बनाउने आफना एजेण्डा सुनाए ।

भण्डारीले जुम्लालाई साँस्कृतिक राजधानी बनाउने,सिञ्जा सभ्यताको विकास, सिञ्जा क्याम्पसको स्तरोन्नति,जुम्लामा ७२ मेघावाट क्षमताको तिला जवा जलविधुत आयोजना, कृषि उत्पादनको बृद्वि तथा बजारीकरणमा जोड लगायतका कुरामा विशेष जोड दिए ।

सो अवसरमा उनले राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै निर्वाचित भएर तीन वर्ष सम्म माखो नमारेका मान्छेहरु सबैथोक आफुले गरेको भनेर अफवाह फैलाईरहेको दाबी गरे । जुम्ली जनताले काम गर्ने व्यक्तिलाई मतदान गर्नेमा आफू ढुक्क रहेको बताए ।

नेकपाका समानुपातिक उम्मेदवार तिर्थ बुढाले जुम्ला बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन आफू जिविस सभापति हुँदा काम गरेको बताए । जुम्लाको समृद्वि र विकासका लागि नरेश भण्डारीको विकल्प अरु हुन नसक्ने उनको तर्क छ । पार्टीको घोषणा पत्र अन्तिम चरणमा रहेकाले अझै जुम्लाको विकास र समृद्विसँग जोडिएका नयाँ एजेण्डा आउने उनको भनाइ छ ।