बजेट पचाउन ससुराली डाँडामा तटबन्धन निर्माण

खड्क सुनार

छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पूर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पूर्वाधार कार्यालयको मिलोमतोमा तटबन्धन निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिवमन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।

असार मसान्तमा बजेट आएको र उपभोत्ता समित गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोपाईटर केशव चौलागाईले ठेक्का दिइएको थियो ।

सो क्षेत्रमा न बाढी, पहिरो , भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन् । सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन् । तर, जिल्लामा रहेको पुर्वाधार विकास कार्यालयले सुटुक्ट कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ ।

तटबन्धनमा ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पूर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए । उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।

पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनमियतता भएको उनले बताए ।

पूर्वधार कार्यालयका सव–इन्जिनियर मोहनसिंह कार्कीले आर्थिक वर्ष ०७८र०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए । विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सबईन्जिनियर कार्कीले बताए ।