-प्रकाशचन्द खत्री
कुनै क्षेत्रको विकासमा त्यहाँका प्राकृतिक सम्पदा र ऐतिहासिकताले महत्वपूूर्ण प्रभाव पार्दछ । हामी विपन्न र गरिब त्यसकारणले छौ, हामीले आफ्नो स्रोत साधनको परिचालन तथा संरक्षण गर्न सकिरहेका छैनौ । ढिलै भएपनि गिडीदहको सौन्दर्यता र ऐतिहासिकताको महत्वलाई उजागर गर्न गिडीदह सम्मेलन भाद्र ४–८ सम्म हुने कुरा सामाजिक सञ्जालबाट अवगत भएपछि म निकै हर्षित भएको छु । यस ऐतिहासिक कार्यका लागि समन्वयको भूमिका निर्वाह गर्ने वडा नं ४ र आयोजक तातोपानी गाउँपालिकालाई विशेष धन्यावाद दिन चाहन्छु,साथै पूर्ण सफलताको कामना गर्दछु ।
इतिहासको गर्वमा लुकेको र कर्णालीको अस्मितासँग जोडिएको गिडीदह सम्मेलनको आयोजनाले मलाई हर्षित एवम् चिन्तित तुल्याएको छ । मलाई आशा अनि भरोसा छ, यो सम्मेलनले निश्चय पनि सकरात्मक सन्देश प्रवाह गर्नेछ र गिडीदहको पर्यटकीय पुर्वाधारको विकासमा टेवा पुग्नेछ । सम्मेलनको आयोजना आफैमा महत्वपूर्ण र चुनौतिपूर्ण मानिन्छ तथापि यसको प्रारूप,उद्देश्यले यसको औचित्यलाई पुष्टि गर्दछ ।
गिडीदहको व्यापक प्रचार, गरी यसको पूर्वाधारको विकास गर्ने उद्देश्य राखिएपनि यसको असर र प्रभावका बारेमा दीर्धकालीन योजना तथा रणनीतिलाई अवलम्बन गरिएन भने यो केवल नाममा त्राको झारो टार्ने सम्मेलन नहोला भन्न सकिने अवस्थ छैन । तर त्यस्तो नहोस भन्ने मेरो अन्तरहृदयदेखीको चाहना हो । म सायद यसै वडाको स्थानीयवासी नभएको भए यस सम्मेलन प्रतिको चासो र चिन्ता हुन्थेन होला ।
म वडावासी हुनुको नाताले मेरो मनमा उत्पन्न भएका केही कौतुहलता र सुझावहरू यहाँहरू समक्ष राख्ने ढृष्टता गरे । जुन यस प्रकारका छन्
१. गिडीदहलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा चिनाउँन प्रर्यटकीय पूर्वाधारको मोडल तयार गरी कार्यान्यनमा जोड दिइयोस् ।
२. सम्मेलन केवल सम्मेलन मात्र नहोस । यसले दीर्घकालीन योजना र रणनीतिको खाका प्रस्तुत गर्न सफलहोस् । रारा सम्मेलन जस्तो ५० लाख दोहोन गर्ने सम्मेलन नबनोस् ।
३.वडा कार्यालय र गाउँपालिकाकाको समन्वय र सहकार्यमा गिडीदहको पहिचान,प्रर्वद्धन र विकासका लागि गुरुयोजना तयार पारियोस् ।
४.पर्यटकीय पूर्वाधारको विकासका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी क्रमागत योजनाको पहल गरियोस् ।
५. नेपाल सरकारबाट बिनियोजित बजेटको सही सदुपयोग गरी कार्यान्यनमा ध्यान दिइयोस र प्रभावकारी अनुगमन संयन्त्र निर्माण गरियोस् ।
६. गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि धार्मिक,ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा स्थलहरूको अभिलेख राखी सम्भावित पर्यटकीय स्थलको विकासको लागि बार्षिक बजेट विनियोजन गरी प्रभावकारी कार्यन्वयनमा जोड दिइयोस् ।
७. पर्यटकीय स्थलको नक्साङ्कन गरी पर्यटकीय पदमार्ग निर्माण गर्न पहल गरियोस् । जस्तैः राँका–तरापी,भुरीचुल्ला,ढकुल्या,फुलचाउल्या,पानसय पाटन हुँदै गिडीदह र गिडीदह हुँदै भाघ्द,झाडगिडी,गिडीखोला,हाँकुसम्म ।
८.पदमार्गको रुटमा होडिङ्बोर्ड राख्न लगाई र मुख्यमुख्य स्थानहरूमा विश्राम स्थलको व्यवस्था गरियोस् ।
९. तातोपानी गाउँपालिका पर्ने गिडीदह जस्तै अन्य पर्यटकीय स्थलहरूको ऐतिहासिक,पौराणिक तथा धार्मिक स्थलहरूको महत्वका बारेमा अध्ययन,अनुसन्धानको लागि आवश्यक व्यवस्था गरियोस् ।
१०. गिडीदह नजिकै क्यामपिन एरिया छनौट गरी खानेपानी,सौचालय र फोहोर व्यवस्थापनको प्रबन्ध गर्न आवश्यक पहल गरियोस् ।
११.पर्यटकीय , धार्मिक तथा ऐतिहािसक महत्त्वका स्थानहरूको पहिचान तथा प्रचारप्रसारको लागि गाउँपालिकाले व्यापक प्रचार गर्ने कार्य अविलम्ब सुरू गरियोस् ।
१२.गिडीदह क्षेत्रको पर्यावरणीय अवस्थालाई मध्यनजर गरी वातावरणलाई प्रतिकूल असर पर्ने कार्यहरूमा पूर्णतया बन्देज लगाइयोस् । जस्तैः काठ तस्करी ,चोरी शिकार,र ध्वनि प्रदुषण आदि ।
१३.सकरात्मक सौचका साथ अगाडि बढौ,नवीन कार्यको थालनी गरौ,जनप्रितनिधिले फरकदृष्टिले कोही कसैलाई नहेरौ ।
-प्रकाशचन्द्र खत्री तातोपानी गाउँपालिका वडा नं ४ गौतमवाडा, बासिन्दा हुन् ।
जुम्ला दर्पण । ६ आश्विन २०७९, बिहीबार ०९:४४