काठमाडौँ: विवेशशिल साझा पार्टीका नेता रविन्द्र मिश्रले प्रकाश चलचित्रले आफूलाई रुवाएको बताएका छन् । जुम्लाका एक युवकको कथा बोकेको चलचित्र प्रकाशले आफूलाई साच्चिकै रुवाएको प्रतिक्रिया दिएका हुन् । प्रकाश हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौँ। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो ।’ उनले भनेका छन् ।
काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चीममा टुकी बालेर सिनेमामा देखाइएजस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाका दृष्यहरूले मेरो भावनासँग बढी तादात्म्य राखेको हुनसक्छ । तर त्यो तादात्म्यता भन्दा सिनेमामा धेरै बढी सन्देश छ ।
शहरमा हुर्केका–बढेका, कर्णाली,सुदूर पश्चिम कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गरेका छन् ।
प्रकाश,चलचित्र गरिवी, माओवादी द्वन्द्व, समाजरशिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो ।
लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो प्रकाश। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ । उनले भनेका छन् ।
जुम्ला दर्पण । १४ भाद्र २०७९, मंगलवार २०:३३