पातारासी गाउँपालिका वडा नं.५ ले गर्‍यो आज देखि एम्बुलेन्स सेवा प्रवाह

प्रकाश बि.क

जुम्ला – देश सङ्घीयतामा गएसँगै नागरिकले विकास, समृद्धिकाे अनुभुति गरिरहेका छन् । गाउँगाउँमा सडक पुगेका छन् । दुर्गम होस् या सुगम, स्थानीय तहमा जनप्रतिनिधिले निर्वाचित हुनासाथ जनमुखी काम गरिरहेका छन् ।
युवा सोचसहित दुरगामी राजनीतिमा होमिएका पातारासी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दत्त बहादुर बुढाले वडामा परिणाममुखी काम गर्न खाेजिरहेका छन्।
भर्खरै वडा कार्यालयकाे भवन शिलान्यास भएकाे पातारासी ५ मा आज एम्बुलेन्स उद्घाटन गरिएको छ।
आज पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेरा, निवर्तमान अध्यक्ष लक्षिमन बाेहाेरा, निवर्तमान उपाध्यक्ष पुन्नकलि महतारा, लगायतका जनप्रतिनिधि, कर्मचारी , स्थानीयकाे उपस्थितिमा पुजा गरेर एम्बुलेन्स उद्घाटन गरिएकाे हाे। आपतकालीन बिरामीलाई स्वास्थ्य संस्था लैजानको लागि आवश्यक पर्ने एम्बुलेन्स वडाको प्राथमिकतामा परेको रहेछ । प्राथमिक उपचार बाहेककाे सेवा लिन पातारासीबाट जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजानु पर्छ। भनेकाे समयमा यातायात सुविधा नहुँदा समस्या हुने गरेकाे छ। याे समस्यालाई ध्यानमा राख्दै पातारासी ५ मा एम्बुलेन्स खरिद गरिएको वडा अध्यक्ष दत्त बहादुर बुढाले बताए ।
वडा नम्बर ५ का अध्यक्षको अगुवाइमा नयाँ एम्बुलेन्स खरिद गरिएको छ ।
नागरिकका आधारभूत आवश्यकता मा स्वास्थ्य निकै संवेदनशील भएकाेले वडाले एम्बुलेन्स खरिद गर्नु सकारात्मक पक्ष रहेकाे पातारासी निवर्तमान अध्यक्ष लक्षिमन बाहाेराले बताए ।
एम्बुलेन्स समाजमा नभई नहुने आवश्यकता भएकाले वडाले राम्रो कामको सुरुवात गरेको पातारासी गाउँपालिका स्वास्थ शाखा प्रमुख रतन बुढ्थापाले बताए ।
बर्थिङ सेन्टर भएकाे स्वास्थ्य संस्थालाई सरकारले कर छुट दिने प्रावधान भएकाेले डिल्लीचाैर स्वास्थ्य चाैकिकाे नामका एम्बुलेन्स खरिद गरिएको बुढ्थापाले बताए । याे एम्बुलेन्सले पातारासी गाउँपालिकाभर आवश्यकता अनुसार सेवा दिने उनले बताए ।
३७ लाख मुल्यमा १० लाख कर छुट गरि कुल २७ लाख बजेटमा एम्बुलेन्स खरिद गरिएको वडा अध्यक्ष दत्त बुढाले बताए ।