पूर्णखाेप सुनिश्चित पालिका बन्याे तातोपानी

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । विहीबार एक कार्यक्रमका बीच पालिकालाई पूर्णखाेप सुनिश्चित पालिका घाेषणा गरिएकाे हाे ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले तातोपानी पूर्णखोप सुनिश्चिताको घोषणा गरेका हुन् ।जिल्ला खाेप समन्वय समितिका संयाेजकसमेत रहेका जिसस प्रमुख आर्चायले भविष्यको अब्बल र दक्ष जनशक्ति निर्माणका लागि हरेक नागरिक स्वास्थ्य हुनुपर्ने बताए ।

 उनले बालबालिकामा लगानी सुन्दर भविष्यको निर्माणको आधार भएकोले खोपदेखि,अन्य स्वास्थ्यका सूचकमा समेत पहुँच बृद्धि गर्नुपर्ने सुझाव दिए ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाले खोप उमेर समुहका कुनै पनि बालबालिका खोपबाट छुट्ने र दोहोरीले अबस्था आउन नदिन अभियाननै चलाइएको बताए ।

वार्षिक कार्यक्रमनुसार पालिकाका शत प्रतिशत बालबालिका खोपको पहुँचमा पुगेको उनको भनाई छ । बालबालिकाको गुणस्तरीय स्वास्थ्य शिक्षामा पालिकाको विशेष प्रथामिकता रहेको समेत अध्यक्ष चौलागाँईको भनाई छ ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले तातोपानीका ८ वटै वडाका खोप उमेर समुहका ९२५ जना बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको बताए ।

उनका अनुसार ८ वटै वडाका जन्मेदेखी १५ महिना उमेरका २९४ जना र १६ महिनादेखि ५९ महिना सम्मका ६३१ ज्ना बालबालिका पूर्णखोपको पहूँचमा पुगेका छन् ।