काेहलपुर : अध्ययनकाे शिलशिलामा जापानमा रहेका युवाहरूकाे सक्रियतामा दाङका अग्नीपीडितलाई राहत प्रदान गरिएकाे छ । जापानको `क्योतो सहर´मा रहेका दाङकै लमही नगरपालिका वडा नम्बर ९ अमिलियाका सुनिल चौधरी,सल्यानकाे कुमाख गाँउपालिका वडा नम्बर ४ विशाल बुढाथोकीकाे अगुवाईमा अग्नीपीडितलाई राहत वितरण गरिएकाे हाे ।
विभिन्न व्यक्तिहरूबाट नगद संकलन गरेर दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँका आगलागी पीडित २४ घरपरिवारलाई राहत वितरण गरिएको बुढाथाेकीले बताए । उनका अनुसार राहत वितरणका लागि अभियान सञ्चालन गरिएकाे थियाे ।
संकलनबाट जम्मा भएकाे कुल ८८ हजार बराबरको राहत सामाग्री सहयोग गरिएकाे उनले बताए । अग्निपीडितहरुलाई सहयाेग हाेस् भन्ने उद्देश्यले राहत हस्तान्तरण गरिएको उनले बताए ।
राहात सामाग्रीमा प्रेसर कुकर, गाग्री ड्रम १०० लि., छाता, तेल, साबुन रहेका छन् ।
गत वैशाख १६ गते दिउँसो ३ बजेतिर आगलागी हुँदा दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँका २५ घर मध्य २४ घर जलेर नष्ट भएका थिए ।
नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि गाउँमा आगलागी भएको थियो ।
जुम्ला दर्पण । ११ जेष्ठ २०८१, शुक्रबार १६:५९