पातारासीमा कल्भट भत्किदाँ एककाे मृत्यु

जुम्ला । पातारासी गाउँपालिका वडा नं. १ स्थित डलिगाड खोलामा निर्माणधिन पुरानो कल्भट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । भने तीन जना घाईते भएका छन् ।

डलिघाट खोलामा निर्माणधिन पहिले निर्माण भएको कल्भट भत्काउने क्रममा च्यापिएर पातारासी १ कै ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता उमेश चन्दले बताए ।
उनका अनुसार तीन जना घाईते भएका छन् । घाईते हुनेमा पातारासी– १ कै ४१ वर्षीय कर्ण ऐडी,१८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाईते भएको प्रवक्ता चन्दले कर्णाली मिसनलाई जानकारी दिए ।
निर्माणधिन कल्भट भत्किएपछि कामदार रुपमा रहेका एकको मृत्यु तीन घाईते भएको उनको भनाइ छ । घाइते तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको खबर हुने वित्तिकै पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया त्यहाँ पुगेका छन् । गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले कल्भट निर्माणदेखि भत्काउने क्रममा लापारबाहि भएका कारण भत्किएकाे बताए । उनले भने,‘त्यो प्रदेशको योजना हो । पालिकासँग कुनै समन्वय सहकार्य नगर्दा गुणस्तरदेखि नियमित अनुगमन निरिक्षणको जिम्मेवारी हाम्रो छैन् । तर समस्या आएपछि स्थानीयले हामीलाई घेर्छन् ।संघ प्रदेशका योजना निर्माण गर्दा निकै सजक हुनु पर्ने देखियो ।’
मृत्तकलाई क्षतिपुर्ति तथा घाईतेको उपचारमा पालिकाले सहयोगबारे छलफल गरिने उल्लेख गरे ।
यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले अगाडी बनाएको संचरना स्टमेटअनुसार नभएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको बताए । कहिले भत्काउने भन्नेबारे अफिसमा आधिकारीक जानकारी नभएको र भत्काउने क्रममा दुखद घटना भएको खबर पाएपछि मात्रै थाहा भएको उनको भनाई छ ।
कल्भट निर्माण गुणस्तरहिन गरेपछि निर्माण गरिरहेकै अबस्थामा भत्कीएर एकजनाको ज्यान समेत गएको स्थानीयले बताएका छन् । स्थानीय नैनसिंह एैडीले गुणस्तरहिन कल्भट बनाएकै कारण मान्छेको ज्यान गएको बताए । उनले सामाजिक संजालमा लेखेका छन्,‘पहिल्यै नै गुणस्तर सामन राख्नुपर्ने, गुणस्तरीय बनाउनुपर्ने ? यदी भत्काउदा पनि डोजरको प्रयोग गर्नुपर्ने वा सुरक्षा अपनाउनुपर्ने हो ? सत्यतथ्य छानबिन गरेर दोषी माथि कारवाही हुनुपर्छ । भने पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्थापन हुनु पर्छ ।’