जुम्लाकाे गुठीचाैर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव हुँदै

जुम्ला : जिल्लाकाे  गुठीचौर गाउँपालिकास्थित पयर्यटकीय स्थल गुठीचाैर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव आयाेजना हुने भएकाे छ ।

जिल्लाकाे प्रमुख पर्यटकीय स्थलका रूपमा रहेकाे गुठीचाैर उपत्यकाकाे पर्यटन प्रर्वद्धनका लागि प्याराग्लाइडिङ महोत्सव आयाेजना हुने भएकाे हाे ।

गुठीचौर गाउँपालिकाको आयोजनामा यहीँ भाद्र २५ गते देखि ३० गते सम्म प्याराग्लाइडिङ महोत्सव हुने भएकाे छ । महाेत्सवसँगै खुल्ला पुरुष भलिबल प्रतियोगिता र खुल्ला महिला देउडा प्रतियोगिताको आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुब्रराज गिरीले बताए ।

उनका अनुसार यसअघि सफल परिक्षण भइसकेकाेले यसपटक पनि प्याराग्लाइडिङ उडान हुनेछ ।  यसअघि नै गुठिचौर गाउँपालिकाको डाबबाट प्याराग्लाइडिङको परीक्षण उडान भई सकेको छ ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले गुठीचाैरकाे प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महाेत्सव आयाेजना गर्न लागिएकाे हाे ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमका लागि ५० हजार नगत सहित प्रमाणपत्रको पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै द्वितीय हुने टिमलाई ३० हजार र तृतीय टिमलाई २० हजारको व्यवस्था गरिएकाे छ ।उत्कृष्ट हुने टिमका दुई जनाले प्याराग्लाइडिङ गर्ने अवसर पाउनेछन् ।

यस्तै खुल्ला महिला देउडा प्रतियोगिताकामा प्रथम हुने टिमलाई २० हजार, द्वितीय हुने टिमलाई १५ हजार र तृतीय हुने टिमलाई १० हजारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । भलिबलका लागि ५ हजार र देउडा प्रतियोगिताका लागि ३ हजार टिम दर्ता शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।