प्रधानमन्त्री ओली आइतबार जुम्ला आउँदै

कार्यकर्ता भेटघाट,सिनेट,दिक्षान्त समारोहदेखि उद्घाटनमा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन् । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यहीँ भदौ २३ गतेहुने प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओलीसंगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आईतबार ११ बजे जुम्ला आउने भएका हुन ।
सोही अवसरमा प्रधानमन्त्री ओलीबाट प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा संचालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए ।
भदौ २३ गतेहुने दीक्षान्त समारोहका लागि प्रतिष्ठानले सबै तयारी पुरा गरेको छ । स्थापनाकालको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोहहुन थालेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।
प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थीलाई दीक्षित हुनका लागि योग्य छन् । प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिनेछ ।

करिब डेढ दशकपछि पहिलो पटक ऐतिहासिक दीक्षान्त समारोह गर्न पाउँदा खुशी लागेको प्रतिष्ठानका उपकुलपति डाक्टर रावललको भनाइ छ ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कुल ५६ जना विद्यार्थीहरु उत्तीर्ण भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रधानमन्त्री र स्वास्थ्य मन्त्री जुम्ला आउने भएपछि सुरक्षा व्यस्थापन कडा गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।