जुम्लाको स्याउ बजारीकरणका लागि कृषिमन्त्रीलाई ध्यानाकर्षण पत्र

जुम्ला : जुम्लाको स्याउ बजारीकरणका लागि र विदेशी स्याउ आयात रोक्न कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे छ  । जुम्लाको स्याउको बजारीकरण र विदेशी स्याउ आयात नियन्त्रणकाे माग गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई ध्यानाकर्षण गराइएकाे हाे ।

जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले  जुम्लामा उत्पादित स्याउले भाेगिरहेकाे बजार अभाव , ढुवानी समस्या समाधान,विदेशी स्याउ आयतमा राेक लगाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा भनिएकाे छ,`नेपालको पहाडी जिल्ला जुम्ला आफ्नो स्वादिष्ट र गुणस्तरीय स्याउका लागि प्रख्यात छ। जुम्लाको स्याउले नेपाली कृषकहरूको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विदेशी स्याउको आयातले नेपाली स्याउ उत्पादकहरूलाई प्रत्यक्ष मार परिरहेको छ।´

कृषि मन्त्रीलाई मागपत्र बुझाउँदै जुम्लाका संासद ज्ञानेन्द्र शाही

उक्त पत्रमा कृषि मन्त्रीलाई पाँच बुँदे सुझावसमेत पेश गरिएकाे छ । कृषि मन्त्रीलाई बजार प्रवर्द्धन गर्न,भण्डार सुविधा, ढुवानी सेवा विस्तार,विदेशी स्याउ आयातमा प्रतिबन्ध लगाउन,कृषकलाई प्राेत्साहन र कृषि उद्योग स्थापना गर्न सुझाव दिइएकाे सांसद शाहीले बताए ।

जुम्लाको स्याउलाई देशभर पुर्‍याउन र विदेशी स्याउको आयातलाई नियन्त्रण गर्न ससकारबाट आवश्यक पहलकदमी हुने विश्वास व्यक्त गरिएकाे छ ।


यस्ता छन्,जुम्लामा उत्पादित स्याउले भाेगिरहेका समस्या

समस्याहरू:
* बजारको अभाव: जुम्लाको स्याउले पर्याप्त बजार पाउन नसक्दा किसानहरूले उचित मूल्य पाउन सकेका छैनन्।
* भण्डारणको अभाव: आधुनिक भण्डारणको अभावमा स्याउ लामो समयसम्म ताजा राख्न सकिएको छैन।
* ढुवानीको समस्या: विकट भूगोलका कारण स्याउलाई बजारसम्म पुर्‍याउनका लागि ढुवानीमा समस्या छ।
* विदेशी स्याउको आयात: विदेशी स्याउको अत्यधिक आयातले स्वदेशी उत्पादनलाई प्रभावित पारेको छ।
सुझावहरू:
* बजार प्रवर्द्धन: जुम्लाको स्याउको गुणस्तर र स्वादलाई प्रवर्द्धन गर्न विभिन्न माध्यमबाट प्रचार-प्रसार गर्नुपर्छ।
* भण्डारण सुविधा: जुम्लामा आधुनिक भण्डारण सुविधाको व्यवस्था गर्नुपर्छ।
* ढुवानी सुविधा: स्याउ उत्पादन हुने क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नुपर्छ र शीत भण्डारको व्यवस्था गर्नुपर्छ।
* विदेशी स्याउ आयातमा प्रतिबन्ध: कम्तीमा स्याउ उत्पादनको समयमा विदेशी स्याउ आयातमा प्रतिबन्ध लगाउनुपर्छ।
* कृषकलाई प्रोत्साहन: स्याउ उत्पादनमा लागेका कृषकहरूलाई विभिन्न किसिमका अनुदान र सहुलियत प्रदान गर्नुपर्छ।
* प्रशोधन उद्योग स्थापना: स्याउको रस, जाम, जेली जस्ता उत्पादन गर्ने उद्योगहरू स्थापना गर्नुपर्छ।