जुम्ला – तातोपानी गाउँपालिका स्तरीय बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीहरूलाई लक्षित गरी दुई दिने क्षमता विकास तालिम मंगलबारबाट सुरु भएको छ।
किर्डाक नेपालद्वारा सञ्चालित ‘सहयात्रा’ तेस्रो परियोजनाको आयोजनामा तातोपानी गाउँपालिकामा सुरु गरिएको यस तालिमको उद्देश्य स्थानीय तहमा बालिकाको शैक्षिक पहुँच वृद्धि गर्नुका साथै दलित, विपन्न र सीमान्तकृत समुदायका बालिकालाई प्राथमिकताका साथ शैक्षिक अवसरमा समेट्ने रहेको छ।
शिक्षा क्षेत्रमा समावेशी दृष्टिकोणलाई मजबुत बनाउन, परियोजनाले गाउँपालिका स्तरमै ‘बालिका तथा समावेशी शिक्षा संजाल’ गठन गरेको थियो। यस संजालमार्फत बालिकासम्बन्धी नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने अपेक्षा राखिएको छ।
तालिमको उद्घाटन समारोहमा बोल्दै परियोजना संयोजक (शिक्षा) खेमराज लामिछानेले संजालका पदाधिकारीहरूको भूमिका, जिम्मेवारी र कर्तव्यबारे स्पष्ट जानकारी दिन यस तालिम आयोजना गरिएको बताए। “बालिका तथा समावेशी शिक्षा संजालको मूल उद्देश्य केवल नाममा मात्र नभई, व्यवहारिक रूपमा बालिकाको अधिकार सुनिश्चित गर्दै शैक्षिक क्षेत्रमा समान पहुँच कायम गर्नु हो,” उनले भने।
उनका अनुसार, तालिममार्फत संजालका पदाधिकारीहरूले आफ्नो भूमिका प्रष्ट बुझ्ने मात्र नभई, रणनीतिक रूपमा योजना बनाउन र कार्यान्वयन गर्न सक्ने क्षमता पनि विकास गर्ने लक्ष्य राखिएको छ। लामिछानेले थपे, “हामी चाहन्छौं कि यो तालिमले अपेक्षित उपलब्धी हासिल गर्न सघाओस् र गाउँपालिकामा कुनै पनि बालिका शिक्षाबाट वञ्चित नहोस्।”
कार्यक्रममा तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय पत्रकारहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूले तालिमले आफ्नो व्यवहारिक काममा प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विशेष गरी बालिकाको विद्यालयमा नाम दर्ता, नियमित उपस्थिति, आवश्यक सहयोग र अभिभावकहरूलाई सचेत बनाउने कार्यमा यस तालिमबाट प्राप्त ज्ञान उपयोग गर्ने प्रतिबद्धता जनाए।
तालिमको पहिलो दिनमा संजालको अवधारणा, बालिकाको शिक्षा सम्बन्धी राष्ट्रिय तथा स्थानीय नीति, र समावेशी शिक्षाको आधारभूत सिद्धान्तबारे प्राविधिक सत्र सञ्चालन गरिएको थियो। दोस्रो दिन कार्य–योजना निर्माण, नेतृत्व क्षमता, र अभिलेख व्यवस्थापनसम्बन्धी सत्र हुने तालिका रहेको आयोजकहरूले जानकारी दिएका छन्।
तालिमको समापन बुधबार हुनेछ। समापन सत्रमा सहभागीहरूको प्रस्तुत कार्य–योजना सार्वजनिक गरिने र संजालको आगामी कार्यक्रमलाई साझा प्रतिवद्धतासहित अघि बढाइने बताइएको छ।

डिल्ली कामी । २८ श्रावण २०८२, मंगलवार २१:४८