कविता :- पोखिएका रहरहरु

जिन्दगी रहरै रहरको
एक दस्ताबेज रहेछ
मनले मन सँगै छलफल गरि
मनमै पारीत गर्ने
एकदम अनौठो प्रक्रिया
मेरा केही रहरहरु
बाल्यकाल मै उडेर गए
कागजको पुतली सँगै
केही रहरहरु
घाँस ,दाउरा सँगै पोखिए
गाउँका भिर पाखामा
केही रहरहरु
मेलापात र हाट बजारमा
हाकपारे र ठाडो भाकामा पोखिए

दौँतरीहरु सँग उकाली गर्दागर्दै उक्लिए अनि ओराली सँगै ओर्लिए
कती रहरहरु
गर्बमै घाँटी निमोठिए
कति मन भित्रै गाँजिएर बसे
उमेरले एकपछि अर्को खुड्किलो चढ्दै जाँदा
गरिबी र अभाव सँग पैठेजोरी खेल्दै हुर्किएका
मेरा केही रहरहरु
यौवनकालमा आइपुग्दा
ढकमक्क फूलिदिए
केही रहरहरु
सपनाको रुप लिएर
हर बखत घुमिरहन्छन
आँखाको वरिपरि

केही रहरहरु
बाध्यता र विवशतामा परेर
सपनाको भारी बोकेर
जहाज चढी खाडीमा झरे
आजकाल मेरा केही रहरहरु
दुबईको ब्रुज खालिफा चढेर
भर्खरै ओर्लीएका छन्
जुन खाडीका ( रम्बलहरु) बालुवाहरुमा
पसिना बनी पोखिदै छन्
केही रहरहरु भने
अझै बाँकी नै छन्
मनको कुनामा बसेका
स्वदेश फर्किएर फेरी
आफ्नो गाउँ र ठाउँमा रमाउन
आफ्नै माटोमा खेल्न
बस्
यस्तै छन् मेरा पोकिएका रहरहरु।

मोहन खड्का ” प्यासी”
महालक्ष्मी ~४ चानुवा धनकुटा
हाल~ खाडी।